पाँचौं राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता

काठमाडौं। पाँचौं राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता आगामी साता काठमाडौँमा हुने भएको छ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा यसै जेठ २४ र २५ गते पाँचौं राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता काठमाडौंको बसुन्धरास्थित एटी पार्टी प्यालेसमा हुने भएको छ।

प्रतियोगितामा देशभरबाट ९१ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागीमध्ये ४९ पुरुष र ४२ महिला खेलाडी रहेका छन्। प्रतियोगितामा कुल १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४०–४५ केजी, ४५–५० केजी, ५०–५५ केजी, ५५–६० केजी र ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ४०–४५ केजी, ४५–५० केजी, ५०–५५ केजी र ५५–६० केजी तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।

साथै पुरुष र महिलातर्फ एक–एक खुला तौल विधा पनि समावेश गरिएको छ। प्रत्येक तौल समूहमा एक जना खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। नेपाल वादोरियो कराते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं केन्द्रीय अध्यक्ष हरिशरण केसीका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई टिम च्याम्पियन ट्रफीसहित नगद पुरस्कार प्रदान गरिनेछ। साथै दोस्रो र तेस्रो हुने टोलीले पनि ट्रफी पाउने छन्।

त्यस्तै पुरुष र महिलातर्फका उत्कृष्ट खेलाडी (बेस्ट फाइटर) लाई विशेष पुरस्कार र ट्रफी प्रदान गरिनेछ। कराते खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रतिभावान खेलाडी पहिचान गर्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ। गत संस्करणका च्याम्पियन टोलीले आफ्नो उपाधि जोगाउने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रने तयारी गरिरहेका छन् भने अन्य टोलीहरू पनि उपाधि जित्ने लक्ष्यका साथ उत्रनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको