काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलाे क्वाटरफाइनल खेलमा डीएभी सुशील केडिया विश्व भारती स्कुलले केएमसी स्कुललाई ९४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। टोलीका लागि आरुष झाले ४६ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५९ रन बनाए। कमल शाहीले ४१ तथा प्रसिद्ध जैशीले १८ बलमा २६ रनको योगदान दिए।
केएमसीका लागि श्रीजल भट्टले २ विकेट लिए भने अमितकुमार दासले १ विकेट हात पारे।

१५८ रनको लक्ष्य पछ्याएको केएमसी १३.२ ओभरमै ६३ रनमा समेटियो। अमितकुमार दासले १५ तथा विधान सापकोटाले ११ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
डीएभीका कुञ्जन आचार्यले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिए। केशव अग्रवाल, तनिष शाह, प्रसिद्ध जैशी र कमल शाहीले समान १/१ विकेट लिए।
खेलमा अलराउन्ड प्रदर्शन गरेका कुञ्जन आचार्य ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मुख्य प्रायोजक एसियन ई–लर्निङले विजेता टोलीको पुरस्कार रकम उपलब्ध गराउनेछ भने सह–प्रायोजक ई–सेवाले उपविजेता टोलीको पुरस्कार रकम प्रदान गर्नेछ।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्। साथै विभिन्न बैंक, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याएका छन्।
प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेज प्रा.लि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कूल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक,पाईलट पेन, होप हस्पिटल र लोकल थकालीको सहयोग रहेको आयोजकले जनाएको छ।