काठमाडाैं। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको खेलकुद विकास समिति र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा हुने आठौं पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता जेठ २७ गतेदेखि सुरु हुने भएको छ।
तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका सात टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यसअघि प्रतियोगिताका पहिलो तीन संस्करण पाँचपोखरी थाङ्पाल गाउँपालिकामै सम्पन्न भएका थिए भने त्यसपछिका संस्करणहरू तल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदै आएका छन्। गत वर्षको संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा सफलतापूर्वक सम्पन्न भएको थियो।
यस वर्षको प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा पाँचपोखरी क्रिकेट क्लब, थाङ्पाल भ्याली सेकेन्डरी स्कुल, हेलम्बु गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका रहेका छन् भने समूह ‘बी’ मा मेलम्ची नगरपालिका, पाँचपोखरी हिमालयन क्रिकेट टिम, साँगाचोक युथ क्लब छन्।
प्रतियोगिताअन्तर्गत लिग चरणका खेलहरू जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछन्। समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल असार १ गते तथा फाइनल असार ३ गते हुनेछ।
उद्घाटन दिन जेठ २७ गते पहिलो खेलमा चौतारा साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिका भिड्नेछन् भने दोस्रो खेलमा पाँचपोखरी क्रिकेट क्लब र थाङ्पाल भ्याली सेकेन्डरी स्कुल आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले रु. १ लाख, उपविजेताले रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसबाहेक प्लेयर अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र प्लेयर अफ द म्याच लाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीहरूको दर्ता शुल्क रु. २० हजार निर्धारण गरिएको छ। खेलहरू पहिलाे बिहान ९ बजे र दाेस्राे दिउँसो १ बजे गरी दैनिक दुई चरणमा सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ।