डीएभी र पुलिस स्कुलबीचको फाइनल खेल वर्षाका कारण स्थगित, बुधबार पुनः हुने

काठमाडाैं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।

माथिल्लाे मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनायो। पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए।

सुशील केडिया विश्व भारती स्कुल डीएभीका कमल शाहीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए। कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २–२ विकेट हात पारे।

१०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। डीएभीका लागि आरुष झा ७ रनमा तथा बिराज जैसवाल शून्य रनमा अविजित छन्। प्रसिद्ध जैशी ६ तथा सत्यम बस्नेत २ रन बनाएर आउट भएका थिए।

वर्षा नरोकिएपछि खेल मंगलबार बिहान ७ बजेबाट सोही अवस्थाबाट पुनः सुरु गरिने आयोजकले जनाएको छ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सहप्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको