भलिबल खेलाडीको रोजाईमा रोनाल्डोको पोर्चुगल र मेस्सीको अर्जेन्टिना

काठमाडौं। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरू भइसकेको छ। ३९ दिनसम्म चल्ने प्रतियोगितामा पहिलो पटक ४८ टिम सहभागी छन्।

फुटबलको महाकुम्भले सबैको ध्यान केन्द्रित गरिरहेका बेला खेलकर्मीहरुको व्यस्तता अहिले विश्वव्यापी रुपमै अस्तव्यस्त बनेको छ। फुटबल यस्तो खेल हो, जसप्रति चासो र आकर्षण यही खेलमा लाग्नेहरुमा मात्र सीमित हुँदैन। अन्य खेलमा जीवन समर्पित गर्नेहरुलाई पनि आफूतिर तान्ने क्षमता फुटबलसँग छ। विश्वकप त चार वर्षमा एकपटक मात्र आउने विश्व फुटबलको सबभन्दा ठूलो मेला भएकाले स्वभाविक रुपमा अन्य खेलमा समर्पित खेलकर्मी पनि अबको ६ हप्ता फुटबलमा केन्द्रित भइरहेका छन्।

नेपालमा जनस्तरमा सायद भलिबल र क्रिकेट फुटबलभन्दा लोकप्रिय छ। तर फुटबलको विश्वव्यापी लोकप्रियताले नेपालका भलिबल, क्रिकेटलगायत अन्य खेलका खेलाडी र खेलकर्मीलाई अहिले विश्वकपतिर एकोहोर्याएको छ।

नेपाली महिला भलिबल टोलीले भर्खरै घरेलु कोर्टमा काभा च्याम्पियनसिप खेल्यो। तर, नेपालको लागि यो प्रतियोगिता सुखद् रहन सकेन। चौथो स्थानमा सिमित भयो। नेपालको नतिजा जस्तो भए पनि काभा च्याम्पियनसिप चलुन्जेल नेपाली खेलकुद भलिबलमय बनेको थियो।

प्रतियोगितापछि खेलाडीहरु विश्राममा छन्। अनि समर्थकहरुलाई विश्वकप फुटबलको ज्वरोले तताउन थाल्यो। यस्तो ज्वरो जसले भर्खर काभा खेलेका भलिबल खेलाडीलाई पनि छोडेन। त्यही भएर विश्राममा रहेको महिला टोलीका खेलाडी अहिले फिफा विश्वकपमा रमिरहेका छन्। केही खेलाडी यसमा अपबाद छन्। भन्छन्, ‘हामी त विश्वकप भन्दा पनि जापानमा असोजमा हुने एसियाली खेलकुदको तयारीमा व्यस्त छौं। विश्वकपका सबै खेलहरु हेर्न समय मिल्दैन।’

नेपाली राष्ट्रिय महिला टोलीकी ओपन स्पाइकर उषा भण्डारी थप्छिन्, ‘फुटबल त म हेरिरहेकै हुन्छु। नेपालको लिग पनि हेर्छु। विश्वकप नहेर्ने त कुरै भएन। तर, भर्खरै मात्रै जापानमा हुने एसियाली खेलकुदको लागि अभ्यास सुरु भएको छ। त्यसैले त्यतै बढी ध्यान दिएको छु।’

उषा यो विश्वकपमा पोर्चुगलको समर्थनमा छिन्। रोनाल्डोले क्लब फुटबलमा धेरै सफलता हासिल गरेको तर, विश्वकप मात्रै जित्न बाँकी रहेकाले यही उपलब्धी हासिल गरेको हेर्न चाहन्छिन्। ‘रोनाल्डो कै कारण पोर्चुगल मन पर्छ। रोनाल्डो अनुशासित छ, उसले गर्ने मेहनत र उसको रणनीतिक खेलका कारण पनि फ्यान भएँ। पोर्चुगलले पहिलो पटक विश्वकप जितेको हेर्ने चाहना छ।’

फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रभाव विश्वव्यापी छ। उनीहरुको प्रभावले नेपाली समर्थकको मनमा पनि राज गरिरहेको छ। यही कारण हो, समाजका अन्य समूहजस्तै भलिबलको महिला टिममा पनि धेरैजसो अर्जेन्टिना र पोर्चुगलको समर्थनमा छन्।

काभा महिला च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गर्दा प्रभावशाली प्रदर्शन गर्ने खेलाडी हुन् सुमित्रा रेग्मी। मिड ब्लकर सुमित्राले आफ्नो जिम्मेवारी मात्रै हैन, स्पाइकरको भूमिका समेत निर्वाह गर्दै नेपालको लागि अंक जोडेकी थिइन्। प्रतियोगितामा १४ नेपाली खेलाडी कोर्टमा उत्रिँदा सुमित्राकै चर्चा बढी थियो।

सुमित्रा पनि जापानमा हुने भलिबलको तयारी गर्दै घरमै विश्वकप हेरिरहेकी छिन्। उनी अर्जेन्टिना र मेस्सीको फ्यान हुन्। ‘अर्जेन्टिना र मेस्सीको खेल पहिल्यैबाट हेर्ने गरेको छु। यसपटक पनि अर्जेन्टिनाले जितेको हेर्ने चाहना छ।’

विश्वकपका अधिकांश खेल मध्यरातमा भएकाले अनुकूल भएका खेल मात्रै हेर्ने सुमित्रा बताउँछिन्। दिउँसो भने एसियाली खेलकुदको तयारी र जापानमा सहभागी हुने टिमको खेल हेरेर समय बिताउने गरेको सुमित्राको योजना छ।

‘मध्यरातमा खेल हुँदा सबै हेर्न सकिँदैन। त्यसैले एसियन गेम्स खेल्ने टिमहरुकै भलिबल हेर्छु। यो सिकाइले एसियन गेम्समा धेरै सहयोग गर्छ।’

सेटर प्रगति नाथ पनि पोर्चुगलको समर्थक हुन्। तर, मध्यरातमा खेल हुँदा खासै हेर्न नपाउने उनको गुनासो छ। बिहान नतिजा हेरेरै चित्त बुझाउने उनी बताउँछिन्।

स्पाइकर कामना बिष्टले बहिनी (सिमरन बिष्ट)सँग घरमै विश्वकप हेर्ने योजना बनाएकी छिन्। बहिनी सिमरन भर्खेरै काठमाडौं आएकाले कामनालाई पनि राति खेल हेर्ने साथी भएको छ। ‘घरमै विश्वकप हेर्ने योजना बनाएको छु। बहिनी पनि आएकी छिन्। सजिलो हुन्छ।’

कामना बिष्टको कामना नै रोनाल्डोको यो अन्तिम विश्वकप भएकाले पोर्चुगलले जितोस् भन्ने छ। ‘पछिल्लो विश्वकपदेखि लगातार फुटबल हेर्दै आएको छु। पोर्चुगलले जितोस भनेर कामना गरेको छु। रोनाल्डोको खेल्ने शैली निक्कै मनपर्छ,’ कामना भन्छिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको