काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ। जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गरे।
खेलको छैटौं मिनेटमा फेलिक्स नेम्चाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले गोल गर्दै कुरासाओलाई १–१ को बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाओको पहिलो गोल थियो। योसँगै उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
बराबरीपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण जमाउँदै निर्मम बन्यो। ३८औं मिनेटमा निको श्लोटरबेकले नाथानियल ब्राउनको कर्नरमा हेडर गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीको अग्रता ३–१ बनाए। फेलिक्स नेम्चालाई पेनाल्टी क्षेत्रभित्र रिचेड्ली बाजोएरले लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जमाल मुसियालाले गोल गर्दै जर्मनीलाई ४–१ को अवस्थामा पुर्याए। त्यसपछि ६८औं मिनेटमा नाथानियल ब्राउनले गोल गरे भने ७८औं मिनेटमा डेनिज उन्डाभले अर्को गोल थपे।
हाभर्ट्जले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ मा पुर्याए। सन् २०१४ को विश्वकप जितेपछि लगातार दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि यो प्रतियोगिताको उत्साहजनक सुरुआत बनेको छ।
जर्मनीले पछिल्लोपल्ट उपाधि जित्दा पनि सेमिफाइनलमा ७–१ कै जित निकालेको थियो। योसँगै जर्मनीले यसपल्ट प्रतियोगिताको सुरुआतमै ब्राजिली समर्थकलाई जिस्काउने नतिजा हात पारेको छ।
६८ हजारभन्दा बढी दर्शक उपस्थित रहेको खेलमा अधिकांश समर्थक जर्मनीको पक्षमा देखिएका थिए। तर, विश्वकप इतिहासकै सबैभन्दा सानो राष्ट्रका रूपमा प्रतियोगितामा सहभागी भएको कुरासाओका समर्थकहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
लगभग दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका ४० वर्षीय गोलकिपर म्यानुएल नोएरले जर्मनीका लागि एक मात्र बचाउ गरे। यस खेलमा विश्वकप इतिहासकै सबैभन्दा ठूलो उमेर अन्तर भएका प्रशिक्षकहरू आमनेसामने भएका थिए। कुरासाओका ७८ वर्षीय डिक एड्भोकाट विश्वकपका सबैभन्दा वृद्ध प्रशिक्षक बने भने जर्मनीका ३८ वर्षीय जुलियन नागेल्समान यस संस्करणका सबैभन्दा कान्छा प्रशिक्षक हुन्।
जर्मनीले अब शनिबार टोरन्टोमा आइभोरी कोस्टसँग खेल्नेछ भने कुरासाओले क्यान्सस सिटीमा इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।