आयारीको दुई गोलमा स्विडेनको फराकिलो जित

काठमाडौं। यासिन आयारीले दुई गोल गरेपछि स्विडेनले विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको छ।

मोन्टेरेमा आइतबार सम्पन्न खेलमा स्विडेनका ‍ आयारी, अलेक्जान्डर इसाक र भिक्टर ग्योकेरेसले गोल गरे। टोलीले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै प्रभावशाली प्रदर्शन गरेको थियो।

खेलको सातौं मिनेटमै आयारीले लामो दूरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत गर्दै स्विडेनलाई अग्रता दिलाए। ट्युनिसियाका गोलकिपर अब्देलमोउहिब चमाख आफ्नो स्थानबाट अगाडि बढेको अवस्थामा आयारीको प्रहार सिधै जाली चुम्न पुगेको थियो।

३०औं मिनेटमा भिक्टर ग्योकेरेसको उत्कृष्ट पासमा अलेक्जान्डर इसाकले ‘ब्रेकअवे’ अवसरलाई सदुपयोग गर्दै स्विडेनको अग्रता दोब्बर बनाए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा ओमार रेकीकले हेडरमार्फत गोल गर्दै ट्युनिसियालाई खेलमा फर्काउने प्रयास गरे।

तर, दोस्रो हाफमा स्विडेनले पुनः आफ्नो दबाब कायम राख्यो। ५९औं मिनेटमा ट्युनिसियाका मिडफिल्डर एलियस स्क्हिरीले आफ्नै क्षेत्रमा बल गुमाएपछि प्राप्त अवसरलाई ग्योकेरेसले गोलमा परिणत गर्दै स्विडेनलाई ३–१ को अवस्थामा पुर्‍याए।

८४औं मिनेटमा माटियास स्वानबर्गले अर्को गोल थपे भने इन्जुरी समयमा आयारीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई ५–१ मा पुर्‍याए।

यस जितसँगै स्विडेनले समूह ‘एफ’ मा तीन अंकसहित शीर्ष स्थान कब्जा गरेको छ। सोही समूहको अर्को खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को बराबरी खेलेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको