स्पेनलाई गोल गर्न नदिँदै केप भर्डेले गर्‍यो सनसनीपूर्ण डेब्यु

काठमाडाैं। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले आफ्नो डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गर्दै उपाधि दाबेदार स्पेनलाई गोल गर्नबाट रोकेको छ।

युरोपियन च्याम्पियन तथा विश्वकपको मुख्य दाबेदारमध्ये एक मानिएको स्पेन सोमबारको खेलमा अपेक्षाअनुसार प्रभाव जमाउन सकेन। स्टार खेलाडीहरूले भरिएको स्पेनिस टोलीलाई केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हाले लगातार उत्कृष्ट बचाउ गर्दै निराश बनाए।

४० वर्षीय गोलरक्षक भोजिन्हाले खेलभर सानदार प्रदर्शन गरे। स्पेनका फरवार्ड फेरान टोरेस गोल गर्न सबैभन्दा नजिक पुगेका थिए। तर, उनको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कियो। त्यसपछि पनि टोरेसको अर्को उत्कृष्ट प्रयासलाई भोजिन्हाले बचाएका थिए।

त्यस्तै, स्पेनका मिडफिल्डर पेड्रीको प्रहारलाई पनि उनले विफल पार्दै टोलीलाई खेलमा टिकाइराखे। पहिलो हाफको अन्त्यतिर आएको अर्को गोल अवसरलाई समेत भोजिन्हाले उत्कृष्ट रूपमा रोके।

करिब पाँच लाख जनसंख्या भएको टापुहरूको राष्ट्र केप भर्डे पहिलो पटक विश्वकप खेलिरहेको छ। प्रतियोगिताको सुरुआतमै बलियो टोलीविरुद्ध देखाएको आत्मविश्वासपूर्ण प्रदर्शनले सबैको ध्यान खिचेको छ।

सन् २०१० को विश्व च्याम्पियन स्पेन दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको हो। तर, खेलअघि प्रशिक्षक लुइस डे ला फुएन्तेले नै केप भर्डे यस प्रतियोगिताको ‘सरप्राइज प्याकेज’ बन्न सक्ने चेतावनी दिएका थिए।

यो खेलको प्रदर्शनले प्रशिक्षकको उक्त भनाइलाई सही साबित गर्ने संकेत दिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको