आइभोरी कोस्टमाथि जर्मनीको रोमाञ्चक जित

काठमाडाैं। खेल सुरु भएको करिब एक घण्टापछि जर्मनी आइभोरी कोस्टविरुद्ध दबाबमा परेको थियो र १–० ले पछि परेको थियो।

प्रशिक्षक जुलियन नागेल्समानलाई टोलीमा नयाँ रणनीतिको आवश्यक थियो। उनले तीन जना नयाँ खेलाडीलाई मैदानमा उतारे। त्यसमा डेनिज उन्डाभ पनि थिए। उनको यो निर्णय निकै सफल साबित भयो।

उन्डाभले दुई गोल गर्दै जर्मनीलाई शनिबार आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक जित दिलाए। योसँगै टोलीले विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘ई’मा रहेको जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ। शीर्ष स्थानको जर्मनीले पहिलो खेलमा कुराकाओलाई ७–१ ले पराजित गरेको थियो। इक्वेडरलाई पराजित गरेको आइभरी कोस्टको भने समान खेलबाट ३ अंक छ।

‘बेन्चबाट आएका खेलाडीहरूले पनि खेलको नतिजा परिवर्तन गर्न सक्छन् भन्ने कुरा सबैले देख्न पाउनु महत्त्वपूर्ण छ, जुन यस्तो प्रतियोगितामा निकै आवश्यक हुन्छ,’उन्डाभले भने।

इन्जुरी समयमा थपिएको चौथो मिनेटमा फेलिक्स एनमेचाले दिएको पासलाई उन्डाभले गोलपोस्ट अगाडि नियन्त्रण गर्दै शक्तिशाली प्रहारमार्फत आइभोरी कोस्टका गोलकिपर याहिया फोफानालाई छक्याए र जर्मनीलाई जित दिलाए। यो जर्मन राष्ट्रिय टोलीको लगातार ११औं जित हो। टोली सेप्टेम्बर २०२५ देखि अपराजित छ।

उन्डाभको पहिलो गोल ६८औं मिनेटमा आएको थियो। नाडिएम अमिरीले दिएको लामो पासलाई स्ट्राइकर काई हाभर्ट्जले छोडिदिएपछि उन्डाभले बल नियन्त्रण गर्दै जाली चुमाए। अमिरी र उन्डाभ दुवै त्यसको आठ मिनेटअघि मात्र मैदानमा प्रवेश गरेका थिए।

खेलको ३०औं मिनेटमा आइभोरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मिडफिल्डर यान डियोमान्डेले दिएको क्रसलाई अमाद डियालोले प्रहार गरेका थिए। तर, जर्मनीका नाथानियल ब्राउनले त्यसलाई रोके। रिबाउन्ड भएको बल केसीसम्म पुग्यो र उनले सजिलै गोल गरे।

पहिलो हाफमा जर्मनीका दुई गोल रद्द गरिए, जसले टोलीलाई निराश बनायो। २१औं मिनेटमा गोलकिपर फोफानाले बल आफ्नै पोस्टमा हानेका थिए। तर‚ जर्मनीका मिडफिल्डर अलेक्सान्डर पाभलोभिचले फोफानामाथि फाउल गरेको भन्दै गोल अमान्य घोषित गरियो।

त्यसपछि ३८औं मिनेटमा जमाल मुसियालामाथि फाउलको निर्णय भएपछि काई हाभर्ट्जको अर्को गोल पनि रद्द गरियो।

चार पटकको विश्व विजेता जर्मनीले २०१८ र २०२२ को समूह चरणमै बाहिरिएको निराशाजनक इतिहासलाई पछाडि छोड्दै पुनः उत्कृष्ट प्रदर्शन गरिरहेको छ। उता आइभोरी कोस्टको भने अझै पहिलो पटक नकआउट चरणमा पुग्ने प्रयासमा छ। यद्यपि, उसको सम्भावना अझै कायम छ। जर्मनीले पछिल्लो पटक समूह चरण पार गर्दा सन् २०१४ मा विश्वकप उपाधि जितेको थियो।

 

 

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको