काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा एपीएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटे सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छिन्।
शनिबार योङ स्टार फाउण्डेसनले भाटभटेनीमा गरेको एक कार्यक्रममा रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गर्दै एक लाख रुपैँया प्रदान गरेको हो।
योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन चन्द्र सिंहले अवार्ड र पुरस्कार रकम प्रदान गरेका थिए। विशेष अतिथि नेपाली राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान अनु लामा रहेकी थिइन्। यस्तै कार्यक्रममा एपिएफकै प्रशिक्षक जीवेशकुमार पाण्डेको पनि उपस्थिति थियो।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउण्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न सुरु गरेको हो। घरेलु महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए।
रेनुकाले सन् २०१० देखि नियमित रुपमा नेपाली महिला टिमबाट खेलिरहेकी छिन्। त्यसयता सबैभन्दा धेरै ६३ खेल खेलेकी छिन्। उनले २० खेलमा कप्तानी जिम्मेवारी पाएकी थिइन्। हाल रेनुका विभागीय टोली एपिएफबाट खेलिरहेकी छिन्।
सम्मानित भएपछि रेनुकाले एकदमै खुशी लागेको प्रतिक्रिया दिइन्। ‘यो अवार्ड पाउँदा धेरै खुसी छु। परिवारकै कारण नेपाली फुटबलमा लगातार योगदान गर्न पाएको छु,’ रेनुकाले भनिन्, ‘यो अवार्डसहित सम्मान गर्नुभएकोमा फाउन्डेसप्रति आभारी छु। यस्ता अवार्डले गर्दा लगातार खेलकुदमै लाग्न प्रेरित गरिरहेको हुन्छ।’
सोही कार्यक्रमबाट ‘अल्फा सिएरा माइक’ नामक पुस्तक विमोचन गरिएको छ। योङ स्टार फाउन्डेसका अध्यक्ष मोहन चन्द्र सिंहबाटै लेखिएको कितावमा उनले आफ्नो जिवनको भोगाई, नेपाली उड्डयन, खेलकुद र मिडियासँग जोडिएका विषय समावेश गरेका छन्।
कार्यक्रममा मिडिया क्षेत्र, खेलकुद क्षेत्र, र उड्डयन क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।