अर्जेन्टिनालाई जोर्डनविरुद्ध ३–१ को सहज जित

काठमाडाैं। कप्तान लिओनल मेस्सीले विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै अर्जेन्टिनालाई जोर्डनविरुद्ध ३–१ को सहज जित दिलाएका छन्।

आइतबार डलासमा सम्पन्न समूह ‘जे’ को अन्तिम खेलमा प्रशिक्षक लिओनल स्कालोनीले अष्ट्रियाविरुद्धको जित निकाल्ने टोलीमा नौ परिवर्तन गरे पनि अर्जेन्टिनाको प्रदर्शन प्रभावशाली रह्यो।

जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले गोल गर्दै टोलीलाई लगातार तेस्रो जित दिलाए। यससँगै समूह विजेता अर्जेन्टिनाले अन्तिम ३२ मा केप भर्डेसँग भेट पक्का गरेको छ।

पहिलो हाफमा अर्जेन्टिनाले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। खेलको १९औं मिनेटमा लो सेल्सोले करिब २० मिटर टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

३१औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर प्राप्त गर्‍यो। लेआन्ड्रो परेडेसमाथि फाउल भएपछि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पश्चात् रेफ्रीले पेनाल्टी दिएका थिए। लाउटारो मार्टिनेजले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको ५५औं मिनेटमा जोर्डनका मौसा अल्टामारीले गोल गर्दै खेल २–१ मा ल्याए। यस गोलसँगै अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सन् २०२६ विश्वकपमा पहिलो पटक गोल बेहोरे।

६०औं मिनेटमा मेसी मैदान प्रवेश गर्दा स्टेडियममा उपस्थित दर्शकले ठूलो ताली र उत्साहका साथ उनको स्वागत गरेका थिए। त्यसपछि खेलको ८०औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिर फाउल भएपछि प्राप्त फ्रिकिक अवसरलाई मेस्सीले उत्कृष्ट रूपमा सदुपयोग गरे। उनले दुई रक्षकलाई छक्याउँदै जमिन नजिकैको सटमार्फत बललाई जाली चुमाए।

योसँगै ३९ वर्षीय मेसी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बने। उनले फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जाइर्जिन्होको लगातार ६ खेलमा गोल गर्ने कीर्तिमानलाई पछि पार्दै नयाँ इतिहास रचे।

समूह चरणअघि नै अर्जेन्टिना नकआउटमा पुगिसकेको थियो भने जोर्डन प्रतियोगिताबाट बाहिरिइसकेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको