शहिद स्मृति राष्ट्रिय यू–२० रग्बी: कर्णाली, बागमती र कोशीको विजयी सुरुआत

काठमाडौं। सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३’ सोमबारदेखि ललितपुरस्थित च्यासल रंगशालामा सुरु भएको छ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा सम्पन्न भए।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री एवं कार्यक्रमकी प्रमुख अतिथि उर्मिला नेपालले मुख्य रेफ्री प्रेमबहादुर कोइरालालाई रग्बी बल हस्तान्तरण गर्दै गरिन्। उद्घाटन समारोह शहिद स्मृति स्पोर्ट्स एकेडेमीका अध्यक्ष रन्जित तामाङको अध्यक्षता तथा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपाल रग्बी संघका अनुसार आगामी नोभेम्बरमा भारतमा हुने यू–२० एसियन रग्बी प्रतियोगिताका लागि नेपाली टोलीको छनोटसमेत यही प्रतियोगिताको प्रदर्शनका आधारमा गरिनेछ। प्रतियोगिताको स्वास्थ्य साझेदारका रूपमा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ।

पहिलो दिनका नतिजा
पुरुषतर्फ
कर्णालीले बागमतीलाई २६–७ ले पराजित गर्‍यो।
कोशीले मधेसमाथि १५–० को जित निकाल्यो।
कर्णालीले गण्डकीलाई ३४–७ ले हरायो।
बागमतीले गण्डकीलाई १४–५ ले पराजित गर्‍यो।

महिलातर्फ
बागमतीले लुम्बिनीलाई ३२–० ले हरायो।
कोशीले गण्डकीलाई ३५–० ले पराजित गर्‍यो।
बागमतीले कोशीलाई २२–० ले हरायो।
लुम्बिनीले गण्डकीलाई १०–० ले पराजित गर्‍यो।
गण्डकी उपस्थित नभएपछि बागमतीले ‘वाकओभर’मार्फत जित हात पार्‍यो।
कोशीले लुम्बिनीलाई १०–५ ले पराजित गर्‍यो।
सेमिफाइनल र फाइनलको समीकरण

पहिलो दिनको प्रदर्शनका आधारमा मंगलबार हुने पुरुषतर्फको सेमिफाइनल तथा महिलातर्फको फाइनल समीकरण तय भएको छ। उपाधिका लागि बागमती प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

पुरुषतर्फ (सेमिफाइनल)
पहिलो सेमिफाइनल: कर्णाली प्रदेशविरुद्ध मधेस प्रदेश
दोस्रो सेमिफाइनल: बागमती प्रदेशविरुद्ध कोशी प्रदेश

प्रतियोगितामा पाँच पुरुष र चार महिला टोलीको सहभागिता रहेको छ। दुवैतर्फका फाइनल खेल मंगलबार सम्पन्न हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको