काठमाडौँ। नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ’ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको फाइनल खेल आगामी असार २० गते (जुलाई ४ तारिख) शनिबारका दिन लन्डनमा आयोजना हुने भएको छ।
नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको यस ऐतिहासिक लिगमा यस वर्ष पुरुषतर्फ ११ तथा महिलातर्फ २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। गत १५ मार्च २०२६ देखि सुरु भएको यस प्रतियोगिताले बेलायतभर रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै मञ्चमा ल्याएर खेलकुदप्रतिको आकर्षण र भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलहरूसँगै प्रतियोगिताको उपाधि भिडन्तको समीकरण पूरा भएको हो। पहिलो सेमिफाइनल खेलमा स्यान्डहस्र्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को प्रतिस्पर्धात्मक अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्समाथि १०९–७७ को फराकिलो अंक अन्तरले शानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो।
अब उपाधिका लागि आगामी शनिबार लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोट्र्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्यान्डहस्र्ट निक्स र ग्रीनफोर्ड नाइट्सबीच भव्य प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेलले यस वर्षकै उत्कृष्ट स्तरको बास्केटबल कौशल प्रदर्शन गर्ने र उपाधिका लागि हुने भिडन्त निकै रोमाञ्चक हुने विश्वास लिगका संयोजक सार्थक गुरुङले व्यक्त गरे।
यसैगरी, नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पु¥याउन र सफल बनाउन अनवरत योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति विशेष आभार प्रकट गरेका छन्। उनले ब्रुनेल विश्वविद्यालयमा हुने फाइनल खेल प्रत्यक्ष अवलोकन गरी खेलाडीहरूको उत्साह बढाउन बेलायतमा रहेका सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई हार्दिक निमन्त्रणा समेत गरेका छन्।