मेक्सिको अन्तिम १६ मा, क्विनोनेसको लगातार उत्कृष्ट प्रदर्शन

काठमाडौं। सह–आयोजक मेक्सिकोले उत्कृष्ट लयलाई निरन्तरता दिँदै बुधबार इक्वेडरलाई २–० ले पराजित गर्दै जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

खराब मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेलमा मेक्सिको सुरुदेखि नै हाबी देखिएको थियो। जितसँगै मेक्सिको नकआउट चरणमा पुगेको छ भने पराजित इक्वेडरको विश्वकप यात्रा अन्तिम ३२ बाटै समाप्त भएको छ।

मेक्सिकोको जितमा जुलियन क्विनोनेसले २२औं मिनेटमा शक्तिशाली प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो। त्यसपछि ३१औं मिनेटमा अनुभवी फरवार्ड राउल जिमिनेजले अर्को गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।

इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। उल्टै इन्ज्युरी समयमै पिएरो हिनक्यापले मेक्सिकोका खेलाडीसँग विवाद गर्ने क्रममा हातले विपक्षीको अनुहारमा प्रहार गरेपछि भिडियो सहायक रेफ्री (भार) को समीक्षा पश्चात् रातो कार्ड देखाइयो। त्यसपछि इक्वेडर १० खेलाडीमा सीमित भएको थियो।

अब मेक्सिकोले क्वार्टरफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र डीआर कंगोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको