काठमाडौं। नेपाल र मलेसियाबीचको मित्रता, सांस्कृतिक आदान–प्रदान तथा खेलकुद सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ‘नेपाल–मलेसिया खेलकुद तथा सांस्कृतिक सप्ताह २०२६’ काठमाडौंमा सुरु भएको छ।
जोम नेपाल, स्टडी प्लस प्रालि. र रिम रनर स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा धन्यन्तरी स्पोर्ट्स क्लबमा असार २७ र २८ गते (११–१२ जुलाई २०२६) सञ्चालन हुने कार्यक्रममा नेपाल तथा मलेसियासहित विभिन्न देशका कूटनीतिक नियोग, निजी क्षेत्र, सामाजिक संस्था र खेलकर्मीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
दुईदिने कार्यक्रमअन्तर्गत प्रथम नेपाल–मलेसिया मैत्री ब्याडमिन्टन प्रतियोगिता २०२६, प्रथम ओपन फुटसल प्रतियोगिता तथा प्रथम भेटेरान फुटसल प्रतियोगिता आयोजना गरिएकाे छ।
कार्यक्रममा भारतीय, इन्डोनेसियाली, रुसी महासंघ, बंगलादेश, म्यानमार तथा रोयल नर्वेजियन दूतावासका प्रतिनिधिहरू, साथै होलिडे इन रिसोर्ट बाई आईएचजी बुढानीलकण्ठ, सूर्यज्योति लाइफ इन्स्योरेन्स लगायत विभिन्न संस्थाको सहभागिता रहने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपालस्थित मलेसियाली दूतावास तथा अन्य मित्रराष्ट्रका कूटनीतिक नियोग, निजी क्षेत्र, विभिन्न संघ–संस्था र नेपाली समुदायबीच खेलकुद तथा सांस्कृतिक गतिविधिमार्फत आपसी मित्रता, सहकार्य र सद्भावलाई अझ प्रगाढ बनाउनु हो।
कार्यक्रममा सहभागीहरूले मलेसियाको मौलिक संस्कृति, परिकार तथा सांस्कृतिक प्रस्तुतिहरू नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन्। साथै नेपाल–मलेसियाबीचको दीर्घकालीन मित्रवत सम्बन्धलाई झल्काउने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
आयोजकले खेलकुद, पर्यटन, संस्कृति तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रममा सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आम नागरिकलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।