सबित्री धामीलाई ५० हजारसहित सम्मान

काठमाडौं। एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा शानदार प्रदर्शनको कदर गर्दै अमरावती बुटिक होटलले सबित्री धामीलाई नगदसहित सम्मान गरेको छ। अमरावती बुटिक होटलले धामीलाई ५० हजार प्रदान गर्दै सम्मान गरेको हो।

धामीले एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्न सफल भएकी थिइन्। उनले प्रतियोगिताभर २५६ रन जोड्दै नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरिन्।

उनले प्रतियोगितामा लगातार तीन अर्धशतक प्रहार गर्दै नेपाली महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडीको रूपमा इतिहास रचेकी छन्। प्रतियोगितामा उनको उत्कृष्ट व्यक्तिगत स्कोर अपराजित ७८ रन रह्यो, जुन उनले सिंगापुर यू–१९ महिला टोलीविरुद्ध बनाएकी थिइन्।

सबित्री धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटल परिवारप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले उक्त सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन्। साथै उनले उक्त सम्मान आफ्ना प्रशिक्षक, टोलीका साथीहरू, परिवार तथा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूलाई समर्पण गर्दै भविष्यमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सबित्री धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा सावित हुने बताए। उनले प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्दै लगातार तीन अर्धशतक प्रहार गरेर इतिहास रचेकी धामीको प्रदर्शन सम्पूर्ण नेपाली क्रिकेटका लागि प्रेरणादायी रहेको बताए। श्रेष्ठले यस्ता प्रतिभावान खेलाडीहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुद, विशेषगरी महिला क्रिकेटको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि अमरावती बुटिक होटल निरन्तर सहकार्य र समर्थनमा रहने प्रतिबद्धता जनाए।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको