काठमाडौं। नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन्।
थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी दिइन्। राकेश सापकोटा र आरोन श्रेष्ठले रजत तथा सिरिषा खनाल र केल्साङ दाहालले फरक विधामा सफलता पाएका हुन्। राकेशले १८ वर्षमाथि उमेरसमूहको स्पिड किक विधामा रजत पदक जिते। यही उमेरसमूहमा नै स्पिड किकमा शिरिषाले नेपाललाई कांस्य पदक दिलाइन्।
केल्साङले क्योरोगी १२–१४ वर्ष उमेर समूहमा सफलता पाएका हुन्। ४७ केजीमुनिमा उनले कांस्य पदक जिते। तीनै खेलाडी न्यू गोकर्णेश्वर तेक्वान्दो डोजाङका हुन्। आरोनले ९–१० वर्ष उमेरसमूहको स्पिड किक विधामा नै उत्कृष्ट प्रदर्शन गर्दै पदक जिते। उनी विद्याआर्जन सेकेन्डरी स्कुलका हुन्। यही प्रतियोगितालाई लक्षित गर्दै नियमित प्रशिक्षण गरेकाले सफलता मिलेको प्रशिक्षक मुनाले बताइन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शन उत्साहजनक रहेको र आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्ने प्रेरणा मिलेको उनको भनाइ छ।