हरमित जनकपुरको नयाँ कप्तानी

काठमाडाैं। अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

जनकपुरले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ। बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठुलो भूमिका खेलेका थिए।

पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको छ। अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। दोस्रो सिजनमा अनिलसँगैं दक्षिण अफ्रिकाका वायन पार्नेल र नामिबियाका जान निकोल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए।

हरमितले पहिलो सिजनमा ८ विकेट लिनुका साथै ५ खेलमा २८ रन बनाएका थिए। दोस्रो सिजनमा उनले १६६ माथिको स्ट्राइक रेटमा ९ खेलमा १ सय ३३ रन बनाएका थिए भने ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए। हरमितले अमेरिकाबाट २९ वानडे अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट र २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको