काठमाडौं। खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को २३औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। स्पोर्ट्स अवार्ड आगामी भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदै छ। अवार्डअन्तर्गत नौ विधाको मनोनयन हुनेछन्।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ। मनोनयनमा ५–५ जना रहने प्रावधान छ। सहप्रायोजकवापत प्लाजा होटल्स ग्रुपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ।
साथै मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ। सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए।
मञ्चका अध्यक्ष अधिकारीले प्लाजा होटल ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे। लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गरिने मञ्चका महासचिव खड्काले जानकारी गराएका छन्। वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल पाउनेछन्।
अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ। पल्सर स्पोर्ट्स अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ।
गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए। सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए। स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो।