काठमाडाैं। श्रीलंकाका अलराउन्डर सहन अराचचिगेले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। एनपिएलको फ्रेन्चाइज टोली गोर्खाजले बुधबार आफ्नो समाजिक सञ्जालबाट सहनलाई अनुबन्धन गरेको जनाएको छ।
३० वर्षे सहनले श्रीलंकाबाट ५ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध हरारेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए। सहनले श्रीलंका ‘ए’ को पनि कप्तानी गर्दै आएका छन्।
लंका प्रिमियर लिगमा हालै गल गालान्ट्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए। गल गालान्ट्सले पहिलो पटक लंक प्रिमियर लिग जित्दा सहनले सबै ११ खेल खेल्दै १४७ माथिको स्ट्राइक रेटमा २४० रन बनाएका थिए। सहनसँग विगतमा नेपालमा फ्रेन्चाइज क्रिकेट खेलेको अनुभव पनि छ। देव्रेहाते उनी माथिल्लोक्रममा ब्याटिङ गर्न सक्छन् भने अफ स्पिन बलिङ पनि गर्छन।
‘विजय भाव बोकेका सहन एक जोशिला खेलाडी हुन्, उनी निरन्तर एक रुपको प्रदर्शन दिन सक्छन् र दबाबमा पनि योजना अनुसार खेल्दै लंका प्रिमियर लिग र श्रीलंका ‘ए’ बाट म्याचहरु जिताएका छन्। उनको स्वभाव र स्पष्ट मानसिक्ताले हाम्रो ब्याटिङ लाइनअपलाई मद्धत गर्नेमा म विश्वस्त छु। उनमा जुन ब्याटिङ, बलिङ र फिल्डिङ क्षमता छ, त्यो काठमान्डु गोर्खाजका लागि फाइदा हुनसक्छ ।’ शरद भेषावकर, क्रिकेट डाइरेक्टर, काठमान्डु गोर्खाज।