काठमाडाैं। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो मञ्च युइएफए च्याम्पियन्स लिगमा नयाँ सिजन सुरु हुनुअघि नै ठूला भिडन्तले फुटबलप्रेमीको ध्यान तानेका छन्। बिहीबार मोनाकोमा भएको लिग चरणको ड्रबाट रियल मड्रिड र आर्सनल आमनेसामने हुने तय भएको छ।
गत सिजनको फाइनलमा पीएसजीसँग पराजित भएको आर्सनलका लागि यसपटक रियलविरुद्धको खेल विशेष हुनेछ। आर्सनलले लिग चरणमा रियल मड्रिड, बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड, लिल, नापोली, रियल बेटिस, स्लाभिया प्राग र साबाहसँग खेल्नेछ।
उता साविक विजेता पीएसजीले पनि कठिन यात्रा तय गर्नुपर्नेछ। पीएसजीको भिडन्त बार्सिलोना, म्यानचेस्टर सिटी, एस्टन भिल्ला, इन्टर मिलान, बायर लेभरकुसेन, एट्लान्टा, न्यूक्यासल र कोमोसँग हुनेछ।
बार्सिलोनाको बाटो पनि कठिन
बार्सिलोनाले लिग चरणमा पीएसजी, म्यानचेस्टर सिटी, एस्टन भिल्ला, कोमो, साबाह, इन्टर मिलान, ओलम्पियाकोस र क्वाराबागसँग प्रतिस्पर्धा गर्नेछ। विशेषगरी पीएसजी र म्यानचेस्टर सिटीविरुद्धका खेललाई बार्सिलोनाका लागि ठूला परीक्षा मानिएको छ।
म्यानचेस्टर सिटीले पीएसजी, बार्सिलोना, बायर्न म्युनिख, एट्लेटिको मड्रिड, नापोली, बोरुसिया डर्टमन्ड, मार्सेइ र गालातासारायसँग खेल्नेछ।
३६ टोली, आठ खेल र नयाँ ढाँचा
च्याम्पियन्स लिगको लिग चरणमा ३६ टोली सहभागी छन्। प्रत्येक टोलीले फरक–फरक आठ टोलीसँग खेल्नेछ—चार खेल घरेलु मैदानमा र चार खेल बाहिर खेल्नेछन्। लिग चरणका खेल सेप्टेम्बर ८ बाट सुरु हुनेछन्।
लिग चरणको अन्त्यमा शीर्ष आठ टोली सोझै अन्तिम १६ मा पुग्नेछन्। नवौँदेखि २४औँ स्थानसम्मका टोलीले नकआउट प्लेअफ खेल्नेछन् भने २५औँदेखि ३६औँ स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन्।
तर सबैभन्दा धेरै प्रतीक्षा भने रियल मड्रिड र आर्सनलको भिडन्तकै हुनेछ। युरोपका दुई ठूला क्लबबीचको यो खेल च्याम्पियन्स लिगको लिग चरणकै सबैभन्दा आकर्षक भिडन्तमध्ये एक बन्ने निश्चित छ। कि भने यसअघि पनि यी दुई टाेलीकाे खेल निकै राेमाञ्चक बनेकाे थियाे। पहिलाे खेलमा रियल आफ्नाे मैदान २–१ पराजित हुँदा दाेस्राे लेगमा ३–० ले पराजित हुँदै बाहिरिएकाे थियाे।