काठमाडाैं। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अल नासरका लागि साउदी प्रो लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
अल तावुनविरुद्ध शुक्रबार राति ५०औँ मिनेटमा गोल गर्दै रोनाल्डोले अल नासरका लागि साउदी प्रो लिगमा आफ्नो गोल संख्या १०४ पुर्याए। यससँगै उनले यसअघि मोहम्मद अल–सहलावीले बनाएको १०३ गोलको कीर्तिमान तोडे।
रोनाल्डोले अल नासरका लागि यो उपलब्धि ११० लिग खेलमै हासिल गरेका हुन् भने अल–सहलावीले १०३ गोलका लागि २०५ खेल खेलेका थिए।
अल तावुनविरुद्धको यही गोलसँगै रोनाल्डोको आधिकारिक करियर गोल संख्या ९७८ पुगेको छ। अब उनी करियरको १,००० गोल पूरा गर्न २२ गोल टाढा छन्।
४१ वर्षको उमेरमा पनि रोनाल्डोले गोल गर्ने क्षमता कायमै राख्दै नयाँ कीर्तिमान बनाएका छन्। अल नासरले पनि अल तावुनलाई २–१ गोलले हराउँदै सिजनको लगातार चौथो जित निकालेर साउदी प्रो लिगमा शतप्रतिशत सुरुआत गरेको छ।