काठमाडौं, भदौ १५ गते। अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका सेटर तुर्मान्डाख गान्खुयागलाई अनुबन्ध गरेको छ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि मंगोलियाका तुर्मान्डाखालाई अनुबन्ध गर्न पाउँदा अन्नपूर्ण स्पाइकर किंग्स उत्साहित छ।
अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि तीनै खेलाडी मंगोलियाबाट भित्र्याएको हो। यसअघि नै अन्नपुर्णले मंगोलिया राष्ट्रिय टिममा स्टार आउटसाइड हिटर उरानबायर मंखबायर र अपोजित हिटर इंख एर्डेन जारगालसोटलाई अनुबन्ध गरिसकेको छ।
२८ वर्षीय अनुभवी सेटर तुर्मान्डाख मंगोलिया राष्ट्रिय टिमको सदस्य हुन्। उनीसँग मंगोलियाको राष्ट्रिय टिम, मंगोलियाको लिग र एसियाको क्लब भलिबल प्रतियोगिता समेत खेलेको अनुभव छ।
उनले केही समयअघि मात्रै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए । यस्तै उनले सन् २०२३ मा पनि काभा नेसनल लिगमा कांस्य जितेका थिए। उनले मंगोलिया प्रिमियर लिगमा दुई पटक बेस्ट सेटरको अवार्ड समेत जितिसकेका छन्।
६ फिट अग्ला तुर्मान्डाखले सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्स र एभिसी च्यालेन्ज कप पनि खेलेका थिए। यस्तै सन् २०२३ मा मंगोलियन क्लब बायनखोन्गोरबाट तुर्मान्डाखले एभिसी मेन्स क्लब भलिबल च्याम्पियनसिप समेत खेलेका थिए।
तीनै विदेशी खेलाडी मंगोलियाबाट अनुबन्ध गरेपछि अन्नपूर्ण स्पाइकर किंग्सको टिम सन्तुलित बनेको छ र लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको यस टिममा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीको रुपमा छन्। यस्तै गण्डकी प्रदेशकै रमेश केसी टिमको मुख्य प्रशिक्षकमा छन् भने नेपाली पुरुष राष्ट्रिय टिमका पूर्व खेलाडी तथा त्रिभुवन आर्मी क्लबका पनि पूर्व खेलाडी र हालका प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकको रुपमा छन्। यस्तै केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेका राजेन्द्र धामी पनि यस टिममा छन्।
टिमका अन्य खेलाडीहरुमा गण्डकी प्रदेशकै चर्चित खेलाडी रबी केसी देखि देखि विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसी छन्। यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका लिबेरो जित बहादुर शार्की, देव राना पनि टिममा छन\। यस्तै गण्डकीले युवा खेलाडीहरुलाई समेत स्थान दिने उदेश्य सहित ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ। हरेक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नुपर्ने प्रावधान अनुसार अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा ट्यालेन्ट हन्ट आयोजना गर्दै किरणलाई छनोट गरेको हो।
स्वदेशी र विदेशी खेलाडीको मिश्रण अनी उत्कृष्ट कोचिङ स्टाफसहितको अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिगमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको छ। नेपाल भलिबल लिग यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला हाता भित्रको कभर्डहलमा हुनेछ।