काठमाडौं। नेपालमा व्यावसायिक कम्ब्याट स्पोर्ट्स तथा मार्सल आर्ट्सलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ।
फ्युजन फाइटको आयोजनामा प्रतियोगिता आगामी असोज २४ गते (अक्टोबर १०) काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा हुनेछ। प्रतियोगितामा मुवाथाईका नियमअनुसार कुल ११ भिडन्त हुनेछन्, जसमा नेपालका २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको भिडन्त रहनेछ। सुष्मा र रजिनाबीच यसअघि दुई पटक प्रतिस्पर्धा भइसकेको छ। दुवैले एक–एक खेल जितेकाले तेस्रो भिडन्तलाई विशेष प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
मुख्य भिडन्तका विजेताले एक लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
मुख्य भिडन्तबाहेक अन्य प्रो–फाइटका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्। थप तीन प्रो–फाइटमा विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँ तथा सेमी–प्रो फाइटमा विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा युवा खेलाडीको प्रतिस्पर्धासमेत आकर्षणको विषय बन्नेछ। १३ वर्षीय पुष्कर मल्लले १६ वर्षीय सम्योक राईसँग प्रतिस्पर्धा गर्नेछन्। पुष्करले यसअघि पाँच फाइट खेलेर चारमा जित निकालेका छन् भने सम्योकले पनि पाँचमध्ये पाँच खेल जितेको आयोजकले जनाएको छ।
यस्तै प्रशान्त तामाङ (१६–७) ले कर्णबहादुर मगराती (७–३), भोला कुमार राई (६–०) ले पेम्बा छिरी शेर्पा, एल्लेन थकाली (३–२) ले अब्राम राई (१५–२) तथा मोसेस कुमाल (३–२) ले गौतम थिङ (६–२) सँग प्रतिस्पर्धा गर्नेछन्।
त्यसैगरी धर्मेन्द्र राम (८–०) र सुमन याक्खा (०–२), आशिक कोली (२–०) र जितेन्द्र राई (३–६), विशाल लामा (५–१) र योमन मोक्तान (५–३), कुशल तामाङ (४–१) र मन्दिप क्षेत्री (३–०) तथा सुरज सिंह ठकुरी (४–३) र सोहन थापा (३–२) बीच भिडन्त हुनेछ।
मुवाथाई थाइल्यान्डमा विकसित भएको प्रसिद्ध युद्धकला तथा कम्ब्याट स्पोर्ट्स हो। यसमा मुक्का, कुहिनो, घुँडा र खुट्टाको प्रहार प्रयोग गरिन्छ। नेपालमा पनि पछिल्लो समय मुवाथाईप्रति खेलाडी तथा दर्शकको आकर्षण बढ्दै गएको छ।
आयोजकका अनुसार ‘फ्युजन फाइट च्याप्टर–१’लाई विगतका कम्ब्याट स्पोर्ट्स प्रतियोगिताभन्दा थप व्यावसायिक र व्यवस्थित रूपमा प्रस्तुत गरिनेछ। एलओडीमा विशेष रिङ, प्रकाश तथा अन्य प्राविधिक व्यवस्थासहित उच्चस्तरीय उत्पादनको तयारी गरिएको छ।
फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले नेपाली मुवाथाई खेलाडीको क्षमता र अनुशासनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार ‘फ्युजन फाइट च्याप्टर–१’ नेपाली कम्ब्याट स्पोर्ट्सलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयास हो।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी बाट हुनेछ भने डिजिटल माध्यमबाट म्याक्स अन एप मार्फत पनि हेर्न सकिनेछ। प्रतियोगिताको टिकटिङ साझेदार इसेवा रहेको छ।
प्रत्यक्ष रूपमा प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ। कार्यक्रमस्थलको गेट दिउँसो १२ बजे खुल्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा कान्तिपुर म्याक्स एचडी, म्याक्स अन, इसेवा, रुटिन अफ नेपाल बन्द, आरओएनबी स्पोर्ट्स, द प्लाजा, स्काइवाक, ग्रो इट र बिग ब्राकेटलगायत साझेदार आबद्ध छन्।