काठमाडाैं। यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए१ मा फ्रान्सले बेल्जियममाथि ४–१ को शानदार जित निकालेको छ।
स्टेड डे फ्रान्समा सोमबार राति भएको खेलमा फ्रान्सले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चार गोल गरेको हो। बेल्जियमका डोडी लुकबाकियोले ३५औं मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्यो। डिजिरे डुएले ७७औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि रयान चेर्कीले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए।
माइकल ओलिसेले त्यसपछि लगातार दुई गोल गरे। उनले ८८औं मिनेटमा तेस्रो तथा इन्जुरी समयको पहिलो मिनेटमा चौथो गोल गर्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे।
जितसँगै फ्रान्स चार खेलबाट १० अंक जोड्दै समूह ए१ को शीर्ष स्थानमा छ। चार खेलमा फ्रान्स तीन जित र एक बराबरीसहित अपराजित छ।
इटालीले पनि चौथो खेलमा टर्कीलाई ३–१ ले पराजित गर्दै ७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। बेल्जियम ६ अंकसहित तेस्रो र टर्की अंकविहीन हुँदै चौथो स्थानमा छ।
समूह ए१ का फ्रान्स, इटाली, बेल्जियम र टर्कीले अब समान दुई खेल खेल्न बाँकी छ।