काठमाडौं, असोज २० गते। चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाेज २२ देखि २८ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ। सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित २३ वटा वडाको सहभागिता रहनेछ।
उद्घघाटन खेल काठमाडौं महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ। नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। त्यसैगरी, व्यक्तिगततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपैयाँले पुरस्कृत गरिनेछ।
यस फुटसल प्रतियोगितालाई सफल पार्न २३ वडा सदस्य गोपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, प्रज्वल शाक्य, सुरेश मानन्धर, विशाल श्रेष्ठ र लैनचौर युवा क्लबका अध्यक्ष रामबहादुर (रम्बा) रजक रहेको मूल समिति गठन गरिएको छ।
प्रतियोगिताको उद्घाटन चरणका खेलहरू असोज २२ गतेदेखि सुरु हुनेछन्। असोज २२ गते बिहान ८:०० बजे वडा नं २३ र के.एम.सी. बीच, बिहान ९:०० बजे वडा नं ६ र वडा नं ३ बीच तथा बिहान १०:०० बजे वडा नं २२ र वडा नं २७ बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।