यल स्पोर्ट्स एकेडेमीको दशैं टेबलटेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ। यल स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

ललितपुरको ग्वार्कोस्थित एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी चार विधामा प्रतिस्पर्धा भएको थियो।

३० वर्षमाथिको विधामा सशस्त्र प्रहरी बलका विलास श्रेष्ठले उपाधि जिते। उनले फाइनलमा आफ्नै विभागका राजीव चिकंबञ्जारलाई पराजित गरे। यस विधामा खोल्चा पोखरीका योगेन्द्र महर्जन र एभिएमका सलिम ताम्राकार तेस्रो भए।

४० वर्षमाथिको विधामा राजकुमार खड्गीलाई पराजित गर्दै विमलराज घिमिरेले स्वर्ण पदक जिते। राजकुमारले रजत पदकमा चित्त बुझाए। एभिएमका अशोक महर्जन र कीर्तिपुरका दिलोन श्रेष्ठ तेस्रो भए।

५० वर्षमाथिको विधामा एभिएमका जयराम महर्जन विजेता बने। उनीसँग पराजित भएका सङ्घरत्न डंगोल दोस्रो भए। भक्तपुरका सुबोध जोंछे र बनेपाका मध्यश मकैले तेस्रो स्थान हासिल गरे।

६० वर्षमाथिको विधामा खोल्चा पोखरीका प्रकाश धाख्वाले स्वर्ण पदक जिते। कीर्तिपुरका रवीन्द्र महर्जन दोस्रो भए। मनोहरि थापा र एभिएमका सुदर्शनप्रसाद गौतम तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। कार्यक्रममा ललितपुर महानगरपालिका–१७ का वडाध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका सचिव शिवसुन्दर गोठेलगायतको उपस्थिति थियो।

एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा आयोजना गरिएको प्रतियोगिताले विभिन्न उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको