काठमाडौं, असोज २७ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोलीले यसपटकको सिजनलाई पुनरागमनको अवसरका रूपमा लिँदै नयाँ जर्सी सार्वजनिक गरेको हो।
टोलीको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक र सहप्रायोजक याङ्गोको नाम तथा चिह्न अङ्कित नयाँ जर्सीमा जनकपुर बोल्ट्सको परिचित गुलाबी र गाढा नीलो रङलाई निरन्तरता दिइएको छ। यसपटक जर्सीको घाँटी, बाहुला र खेलाडीको नम्बरमा सुनौलो रङ थपिएको छ।
टोलीका अनुसार गुलाबी रङले जोश, गाढा नीलोले शक्ति र सुनौलो रङले पुनरागमनको सङ्केत गर्छ। जर्सीको माथिल्लो भागमा परम्परागत बुट्टाको ढाँचा र तल्लो भागमा कमलको मण्डलाको आकृति राखिएको छ। त्यस्तै, खेलाडीले लगाउने तल्लो पोसाकमा बिजुलीको आकारका गुलाबी धर्सा र सुनौलो किनारा समावेश गरिएको छ।
गत संस्करणको नतिजाबाट पाठ सिक्दै जनकपुर बोल्ट्सले तेस्रो संस्करणलाई आफूलाई प्रमाणित गर्ने अवसरका रूपमा लिएको जनाएको छ। नयाँ जर्सीले टोलीको यही सङ्कल्प र मधेशको गौरवलाई प्रतिनिधित्व गर्ने बताइएको छ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले गत संस्करणबाट प्राप्त सिकाइ र मधेशको गौरव नयाँ जर्सीमा झल्किएको बताए। सुनौलो रङले यस सिजनमा टोलीले हासिल गर्न चाहेको लक्ष्यको सम्झना गराउने उल्लेख गर्दै उनले जर्सी लगाएर मैदानमा उत्रने प्रत्येक खेलाडीले मधेशका लागि समर्पित भएर खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, टोलीका प्रमुख बजार व्यवस्थापन अधिकृत उदिप पराजुलीले नयाँ पहिचान बनाउनुको सट्टा टोलीको विद्यमान पहिचानलाई अझ बलियो बनाउने प्रयास गरिएको बताए। गुलाबी र गाढा नीलो रङ जनकपुर बोल्ट्सको पहिचान भएको उल्लेख गर्दै उनले सुनौलो रङले यस सिजनको लक्ष्य र सन्देश बोकेको बताए।
जनकपुर बोल्ट्सले मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक, सहप्रायोजक याङ्गो तथा तेस्रो संस्करणका अन्य साझेदारलाई धन्यवाद दिएको छ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।
जित्तै जनकपुर !