काठमाडौं । चीनमा जारी बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिजमा नेपाली टोलीले आयोजक चीनलाई ८४ रनले पराजित गरेको छ। शनिबार भएको खेलमा जित निकाल्दै नेपालले प्रतियोगितामा लगातार चौथो सफलता हात पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो।
नेपालका लागि टीका शाहले सर्वाधिक ४३ रन बनाइन्। सोनी पाख्रिनले ३१, सबित्री धामीले २४ तथा साना प्रविनले १३ रनको योगदान दिइन्।
१४२ रनको लक्ष्य पछ्याएको चीनले १३.३ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्रै बनाउन सक्यो। चीनका लागि युफेई सुनले सर्वाधिक २८ रन बनाइन्।
नेपालका लागि टीका शाह, रचना चौधरी र एमके उपाध्यायले समान ३–३ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेकी टीका खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।
यस जितसँगै नेपालले सिरिजमा चौथो जित निकालेको छ। यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेट, हङकङलाई ९२ रन र दोस्रो खेलमा थाइल्यान्डलाई ५२ रनले पराजित गरेको थियो। चीनविरुद्धको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।
चार टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन्। अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। चीनविरुद्धको जितपछि नेपाल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। नेपालले सिरिजको अन्तिम खेल आइतबार हङकङसँग खेल्नेछ।