यू–१९ एसिया कप : नेपाल यूएईसँग ७ विकेटले पराजित

काठमाडौं। यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार भएको समूह चरणको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो। नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६ रन जोडे।

यूएईका नसीम खानले सर्वाधिक ५ विकेट लिए। अयान मिस्बाहले ३ तथा नुरुल्लाह अयोबीले २ विकेट हात पारे।

१५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। यूएईका कप्तान अयान मिस्बाहले अविजित ७५ रन बनाए। यायिन किरण राईले ३२ तथा अहमद खुदादादले २४ रनको योगदान दिए।

नेपालका लागि सुसिल रावल, नितेश पटेल र कप्तान विपिन शर्माले समान १ विकेट लिए।

यस हारसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि नोभेम्बर ६ मा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

नेपाल समूह ‘ए’ मा रहेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अब नोभेम्बर १० मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको