तीन गोलको अग्रता जोगाउन सकेन मेस्सीको इन्टर मियामीले

काठमाडाैं। अमेरिकाको मेजर लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले तीन गोलको अग्रता लिएर पनि जित निकाल्न सकेन। चार्लोट एफसीले अन्तिम समयमा गोल गर्दै खेल ३–३ को बराबरीमा टुंग्यायो।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा इन्टर मियामीले पहिलो हाफमै तीन गोल गरेको थियो। उसका लागि इयान फ्रेले १४औँ, लुइस स्वारेजले ३३औँ र रोड्रिगो डी पाउलले ४२औँ मिनेटमा गोल गरे।

तर दोस्रो हाफमा चार्लोटले उत्कृष्ट पुनरागमन गर्‍यो। उसका लागि लिल अबादाले ५०औँ र ५५औँ मिनेटमा लगातार दुई गोल गरे। रोडोल्फो अलोकोले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै चार्लोटलाई हारबाट जोगाए।

लियोनल मेस्सीले स्वारेजको गोलमा असिस्ट गरे पनि आफैँ गोल गर्न सकेनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको