काठमाडौं मंसिर ७ गते। कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको कर्णाली रंगशाला औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
सोमबार आयोजित कार्यक्रममा निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरेको हो। हस्तान्रणपछि कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरे। सो अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहेता, सदस्य मोनालिशा खम्बू, शक्तिप्रसाद गौचन, ललिता नाथलगायतको उपस्थिति रहेको थियो।
सदस्य–सचिव मेहेताले कर्णालीमा यस स्तरको आधुनिक रंगशाला निर्माण हुनु समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले खेलकुद विकासका लागि पूर्वाधार पहिलो आवश्यकता भएको उल्लेख गर्दै रंगशालाले कर्णालीको खेलकुद विकासमा नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे।
उपाध्यक्ष श्रेष्ठले कर्णालीमा यस स्तरको आधुनिक र व्यवस्थित रंगशाला निर्माण हुनु खुसीको विषय भएको बताए। उनले खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा यो ठूलो उपलब्धि भएको उल्लेख गर्दै रंगशालाले प्रदेशमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने बताए। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले रंगशाला प्रदेशको खेलकुद भविष्यसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको बताए। उनले यसको निर्माणले कर्णालीमा खेलकुदको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री मल्लले रंगशालाको उचित संरक्षण, व्यवस्थापन र प्रभावकारी सञ्चालनमा प्रदेश सरकारले ध्यान दिने पनि बताए। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। मुख्यमन्त्री शाहीले कर्णाली रंगशाला प्रदेशको गौरव र पहिचानसँग जोडिएको संरचना भएको बताए। उनले रंगशाला निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसको उचित व्यवस्थापन र नियमित सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए।
आकर्षक डिजाइनमा निर्माण गरिएको कर्णाली रंगशाला प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित छ। करिब ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशालाको शिलान्यास तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २०७८ मंसिर २० गते गरेका थिए। कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण भएको रंगशाला १० हजार दर्शक अट्ने क्षमताको छ।
रंगशाला हस्तान्तरण र उद्घाटनअघि दशौँ राष्ट्रिय खेलकुद–२०८३ को प्रचारप्रसारका लागि सुर्खेतमा ¥याली आयोजना गरिएको थियो। ¥यालीमा सहआयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित प्रदेश सरकारका मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, परिषद्का बोर्ड सदस्य तथा विषयगत उपसमितिका संयोजक, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरू, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रविन्द्र चन्द तथा पदाधिकारी र खेलाडीहरूको सहभागिता थियो। ¥यालीमा विभिन्न सांस्कृतिक झाँकीहरू तथा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ब्यान्डको प्रस्तुती पनि रहेको थियो। मगलगढीबाट सुरु भएको ¥याली नगर परिक्रमा गरि कर्णाली रंगशालामा पुगेर कार्यक्रममा परिणत भएको थियो।
दसौं राष्ट्रिय खेलकुद मंगलबारदेखि ५ खेल सुरु हुनेछ। पुरुष फुटबल, पुरुष÷महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडी सुरु हुनेछ। टेनिस बर्दिया, पौडी नेपालगन्ज र बाँकी खेल सुर्खेतमा हुनेछ। राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने मंसिर १६ गतेदेखि हुनेछ।
