एपिएफ झापा महिला गोल्डकपको फाइनलमा

काठमाडाैं। प्रतिस्पर्धात्मक खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

खेलको २६औँ मिनेटमा एपिएफले अग्रता लियो। झापाकी सेमिहाङमा लिम्बुले एपिएफकी रश्मिकुमारी घिसिङलाई डि–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मिले सोझै पोस्टको दिशा दिइन्। एपिएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो। मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मिले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो।

खेलको सुरुवाती चरणबाटै झापाले रक्षात्मक तथा एपिएफले आक्रामक खेल प्रस्तुत गरेको थियो। झापाले निकालेको अवसरहरु पनि फितलो स्ट्राइकिङ लाइन र एपिएफको बलियो डिफेन्सका कारण विफल बनेका थिए। १३ जना राष्ट्रिय खेलाडी सम्मिलित एपिएफ क्लबले झापासँग अपेक्षित खेल प्रदर्शन गर्न सकेको थिएन।

दोस्रो हाफमा झापाले सुधारिएको प्रदर्शन गर्यो। एपिएफका दर्जनौँ प्रहार झापाका डिफेन्डरले बिफल बनाएका थिए। एपिएफका रश्मि, पुर्णिमा राई, अनिता केसी, कुसुम खतिवडा लगायतका स्ट्राइकरलाई झापाका डिफेन्डरले स्कोर बढाउन अवरोध गरेका थिए।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन्। भोलि (बिहीबार) अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको