विश्वकप लिग-२ अन्तर्गत आज स्कटल्याण्डसँग खेल्दै नेपाल


काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सहभागी छन्। खेल स्कटल्याण्डको फोर्टहिल डुन्डी मैदानमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपालले यसअघि स्कटल्याण्डविरुद्धको पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित हात पारेको थियो। त्यसपछि नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपाल सिरिजमा अपराजित रहन सफल भएको छ। यस सिरिजको अन्तिम खेल नेपालले यही बिहीबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ।

लिग-२ को समग्र अंकतालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म १४ खेल खेलिसकेको छ। नेपालभन्दा एक स्थान माथि नामिबियाले २० खेलमा १४ अंक जोडेको छ।

शीर्ष स्थानमा रहेको अमेरिकाले २० खेलमा २८ अंक बटुलेको छ भने नेदरल्याण्ड्स दोस्रो स्थानमा २२ खेलमा २६ अंकसहित रहेको छ। स्कटल्याण्डले १८ खेलमा २२ अंक जोडेर चौथो स्थानमा छ भने पुछारमा युएई १६ खेलमा ६ अंकसहित रहेको छ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। उपकप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् भने विकेटकिपरको भूमिकामा आसिफ सेख छन्।

टोलीमा कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, करण केसी र रिजन ढकाल रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको