काठमाडौँ । इटालीलाई हराउँदै इङल्यान्ड जारी महिला युरो कपको फाइनलमा पुगेको छ।
मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्यान्ड प्रतियोगिताको फाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समयमा खेलाइएको थियो। ९० मिनेटपछि इन्जुरी समयमा मिशेल अग्येमाङले गोल गर्दै खेल बराबरी गरेपछि इङल्यान्ड खेलमा फर्किएको थियो।
यसअघि खेलको ३३औं मिनेटमा बारबरा बोनान्सीको गोलमा इटालीले शुरुआती अग्रता लिएको थियो। त्यसपछि खेलिएको अतिरिक्त समयको ११९औं मिनेटमा क्लो म्यागी केलीले गोल गर्दै इङल्यान्डलाई फाइनलमा पुर्याएकी थिइन्।
योसँगै साविक विजेता इङल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ। अब इङल्यान्डले फाइनलमा जर्मनी र स्पेनबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ।


