काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्टस् अवार्डलाई राजधानीबाहिर आयोजना गर्ने घोषणा गरेको छ।
२०६० सालदेखि निरन्तर आयोजना भइरहेको यस प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औँ संस्करण पोखरामा हुने भएको छ। अवार्ड पोखरा इभेन्ट सेन्टरमा भदौ २९ गते आयोजना हुनेछ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताए।
‘काठमाडौँ बाहिर लैजाने सोच केही वर्षअघिदेखि नै भइरहेको थियो। सम्भावित केही सहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेका बेला सबै पक्ष अनुकूल बनेपछि यसपालि पल्सर स्पोर्ट्स पोखरा लैजान लागेका हौं,’ अध्यक्ष अधिकारीले भने।
उनले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबाट स्पोर्टस अवार्ड पोखरामा आयाजना गर्न लागेको खबरले आफूहरूमा गौरवान्वित बनाएको सन्देश पठाएको समेत जानकारी गराएका थिए।
अवार्ड आयोजनाका लागि प्रमुख प्रायोजक गोल्छा गु्रप र मञ्चबीच मुख्य प्रायोजन सम्झौता भएको छ। त्यसका लागि गोल्छा गु्रपका निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकल प्रमुख प्रायोजकको रुपमा रहनेछ। नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबीच स्पोर्टस अवार्डकै लागि सहकार्य भएको यो १७ औं वर्ष हो । यस वर्ष प्रायोजनलाई पुनः नवीकरण गर्दै ५ वर्षका लागि सम्झौता भएको छ।
गु्रपका निर्देशक अभिमन्यू गोल्छाले नेपालको प्रतिष्ठित खेलकुद अवार्डका लागि आफ्नो संस्थाको तर्फबाट गर्नुपर्ने दायित्व सम्झेर निरन्तरता दिइएको बताए। उनले अवार्ड पोखरामा आयोजना गर्ने विषयले आफूहरू उत्साहित रहेको बताए। उनले भने, ‘खेलकुदमा मुभमेन्ट, युथ एन्ड प्यासन छ। जसका कारण खेलकुदले देशलाई एकताबद्ध गर्न सक्छ । त्यो युथ प्यासनसँग पल्सर पनि जोडिएको छ।’
निर्देशक गोल्छाले यस वर्ष अवार्डको झन्डै नगद र मोटरसाइकलसहित झन्डै ४० लाख बराबरको प्रायोजन गरेको जानकारी दिए। गत वर्षको तुलनामा यसपालि रकममा ३३ प्रतिशतले वृद्धि गरिएको छ।
ग्रासरुटदेखि नेसनल च्याम्पियनसिपसम्मको खेलकुद गतिबिधिमा पल्सर सदैव अगाडि रहँदै आएको पनि निर्देशक गोल्छाले बताए।
एनएसजेएफका महासचिव अञ्जन खड्काले यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डमा १० विधा समावेश गरिएको जानकारी दिए। वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट र टिम अफ दी इयर अवार्ड विधा रहनेछ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ। मनोनयनमा ५–५ जना रहने प्रावधान छ।
लाइफटाइम, स्पेसल, पारा एथलिट, टिम अफ द इयर, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा मनोनयन गरिने छैन। सबै विजेताको घोषणा अवार्डकै दिन हुनेछ। महासचिव खड्काले भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ। सो कार्यक्रममा एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु अझ एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुलर्भ भएको बताए।
गोल्छा ग्रुपसँग एनएसजेएफको आवद्धता १७ वर्ष पुगेको छ। जुन कीर्तिमान नै हो। उनले स्पोर्टस अवार्डबाट खेलाडीलाई सम्मान गरिरहँदा खेल पत्रकारिताको दायरा पनि फराकिलो भएको महसुस आफूहरुले गरेको बताए।
२१ औं संस्करणका विजेता
गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए। सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले हासिल गरेकी थिइन्।
स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो। एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो।


