कुराशमा प्रशान्तलाई कांस्य


काठमाडौं। नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए।

एसियाली कुराश महासंघको आयोजनामा जुलाइ ३० तारिखदेखि सुरु भइ अगष्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेईं), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

नेपालबाट २ खेलाडी सहभागी छन्। नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो। यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन्।

प्रतियोगिताका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको