काठमाडौं । भारत र श्रीलंकामा जारी आइसिसि महिला एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले फराकिलो हार बेहोरेको छ ।
भारतको गुवाहाटिमा सम्पन्न विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिका इंग्ल्याण्डसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै इंग्ल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
दक्षिण अफ्रिकाले दिएको ७० रनको सामान्य लक्ष्य इंग्ल्याण्डले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्याण्डले २ सय १५ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो ।
इंग्ल्याण्डको जितमा अमाइ जोन्स ५० बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४० रनमा अविजित रहिन् । अर्का ओपनर तमाइ ब्युमोन्ट ३५ बलमा ३ चौकाको सहयोगमा २१ रनमा अविजित रहिन् ।
दक्षिण अफ्रिकाले पाँच जना बलर प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २०.४ ओभरमा ६९ रनको सामान्य योगफलमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि सिनलो जोफ्टाले ३६ बलमा २२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खेलको प्लेयर अफ द म्याच भएकी लिन्सी स्मिथले ३ तथा नट ब्रन्ट, सोफिया र चार्लि डेनले समान २ विकेट लिइन् । प्रतियोगितामा ८ राष्ट्रको सहभागीता रहेको छ । सहभागी टिमबीच डबल राउण्ड रोबिनको आधारमा लिग चरणको खेल हुनेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको फाइनल खेल २ नोभेम्बरमा हुनेछ ।


