काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत २६औं साताकाे खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४–१ को प्रभावशाली जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि युवा स्टार लामिन यामालले ह्याट्रिक पूरा गरे।
पहिलो हाफमै बार्सिलोनाले २–० को अग्रता बनाएको थियो। खेलको २८औं मिनेटमा लामिन यामालले फर्मिन लोपेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३७औं मिनेटमा फेरि यामालले नै सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए।
दोस्रो हाफको सुरुवातमै भिल्लारियल खेलमा फर्कने संकेत देखियो। ४९औं मिनेटमा पापे गेयेले कर्नरपछि गोल गर्दै अन्तर २–१ मा झारे। तर ६९औं मिनेटमा लामिन यामालले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ३–१ को सुरक्षित अवस्थामा पुर्याए।
इन्जुरी समयमा रोबर्ट लेवान्डोव्स्कीले भिएआर पुनरावलोकनपछि गोल गर्दै खेल ४–१ ले टुंग्याए।
यस जितसँगै बार्सिलोना २६ खेलबाट ६४ अंक जोड्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ।


