बायर्नको रोमाञ्चक जित, डर्टमुण्ड ३–२ ले स्तब्ध


काठमाडाैं। जर्मन बुन्डेसलिगाअन्तर्गत सम्पन्न ‘डेर क्लासिकर’ भिडन्तमा बायर्न म्युनिखले बोरुसिया डर्टमुण्डलाई ३–२ ले पराजित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफ निर्णायक बन्यो।

पहिलो हाफमा घरेलु टोली डर्टमुण्डले २६औँ मिनेटमा निको श्लोटरबेकको हेडर गोलमार्फत १–० को अग्रता लिएको थियो। त्यसपछि बायर्नले लगातार दबाब सिर्जना गरे पनि बराबरी गर्न सकेन।

दोस्रो हाफको ५४औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ७०औँ मिनेटमा पेनाल्टीमार्फत केनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए।

तर ८३औँ मिनेटमा ड्यानियल स्वेन्सनले गोल फर्काउँदै खेल २–२ बनाएका थिए। खेल बराबरीतर्फ जाँदै गर्दा ८७औँ मिनेटमा जोशुआ किमिखले उत्कृष्ट प्रहारमार्फत निर्णायक गोल गर्दै बायर्नलाई ३–२ को महत्वपूर्ण जित दिलाए।

अन्तिम समयमा डर्टमुण्डले बराबरीका लागि प्रयास गरे पनि बायर्नको रक्षा पंक्तिले नतिजा जोगायो।

यस जितसँगै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा २४ खेलबाट ६३ अंक जोड्दै शीर्ष स्थान मजबुत बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको