फ्रेन्ड्सको जितमा प्रसान्तको गोल, भगवती २–० ले पराजित


काठमाडौं। एन्फा राष्ट्रिय लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको जितमा प्रसान्त लक्ष्मणले एक गोल गरे भने अर्को गोल भगवतीका विश्वस चौधरीको आत्माघाती गोलका रूपमा आयो।

खेलको ६०औँ मिनेटमा प्रसान्तको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो। त्यसपछि खेलको ९०औँ मिनेटमा भगवतीका विश्वस चौधरीले आत्माघाती गोल गरेपछि फ्रेन्ड्सले २–० को जित सुरक्षित गरेको हो।

यो जितसँगै फ्रेन्ड्सले ९ खेलबाट ९ अंक जोड्दै तालिकाको १०औँ स्थानमा उक्लिएको छ। समान खेलबाट पाँचौँ हार बेहोरेको भगवती ८ अंकसहित १२औँ स्थानमा झरेको छ।

सोमबार नै हुने दोस्रो खेलमा शीर्ष स्थानमा रहेको एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेड भिड्नेछन्। तेस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने तालिका छ।

जारी लिगमा ८ खेलबाट २० अंक जोडेको एपीएफ शीर्ष स्थानमा रहँदा ९ खेलबाट १९ अंकसहित चर्च ब्वाइज दोस्रो तथा मच्छिन्द्र क्लब तेस्रो स्थानमा रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको