काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना फुटबल क्लबले सेभिल्ला फुटबल क्लबमाथि शानदार जित निकालेको छ। आइतबार सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–२ गोलले पराजित गरेको हो।
बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गोल गरे। यस्तै जाओ क्यान्सेलोले एक गोल थप्दा अर्को गोल सेभिल्लाले आत्मघाती रूपमा उपहार दिएको थियो। सेभिल्लाका लागि जिब्रिल सोउले एक गोल गर्दा बार्सिलाेनाका दानी ओल्मो आत्मघाती गाेल गरे।
खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २१औं मिनेटमा पुनः पेनाल्टीमै राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
३८औं मिनेटमा ओल्मोले आत्मघाती गोल गर्दै खेल २–१ को अबस्थामा ल्याए। पहिलो हाफको इन्जुरी समयमा ओसोले आत्मघाती गोल गर्दै खेलमा पहिलो हाफ ३–१ मा अग्रतामा सकाए।
दोस्रो हाफमा पनि बार्सिलोनाले दबाब कायम राख्यो। ५१औं मिनेटमा राफिन्हाले ह्याट्रिक पूरा गर्दै ४–१ ले अघि बढ्यो। ६०औं मिनेटमा जाओ क्यान्सेलोले गोल गर्दै बार्सिलोनाको अग्रता ५–१ बनाएका थिए।
खेलको अन्तिम समयमा सेभिल्लाका जिब्रिल सोउले हेडरमार्फत गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन सकेन र खेल ५–२ ले बार्सिलोनाको पक्षमा टुंगियो।
यो जितसँगै बार्सिलोनाले २८ खेलबाट ७० अंक पुर्याएको छ। बार्सिलोना तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंकले अगाडि छ। यता समान २८ खेलबाट ३१ अंक जोडेको सेभिल्ला तालिकाको १६औं स्थानमा रहेको छ।


