आर्मीका विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि


काठमाडौँ। त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन्। महिला हाफ म्याराथनमा त्रिभुवन आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन्।

पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा शनिबार सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चश्व रह्यो। म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे। विजेता विनोदले २ घन्टा १७ मिनेट ५५ सकेन्डमा दौड पूरा गरी पहिलो स्थान प्राप्त गरेका हुन्। दोस्रो हुने सुशील कुमार शाही २ घन्टा १८ मिनेट १६ सकेन्ड समय लगाएर दोस्रो तथा आर्मीकै नरेन्द्र सिह राउत २ घन्टा १९ मिनेट ५८ सकेन्ड समयसहित तेस्रो भए। यसैगरी चिनका वाङ चि (२.२१ः०५ सकेन्ड) चौथो, केन्याका जुलियस वाकोमे (२.२३.०० सकेन्ड) पाँचौँ, दल बहादुर कुुँवर (२.२४.०७ सकेन्ड) छैटौँ, इशाह नुन्गु (२.२५ः४२ सकेन्ड) सातौँ, कुलबहादुर बस्नेत (२ः२८.१७ सकेन्ड) आठौँ, हरि रिमाल (२.२९ः२० सकेन्ड) नवौँ र कर्णबहादुर रोका मगर (२ः३४.२० सकेन्ड) दशौँ स्थानमा रहे।

पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो हुने सुशीलले दुई लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले एक लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । यसैगरी म्याराथनमा शीर्ष दस स्थानमा रहने धावकहरुलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपियाँ प्रदान गरिएको थियो।

महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले दावेदार सन्तोषी श्रेष्ठलाई निराश बनाउँदै उपाधि जितिन्। पूर्णलक्ष्मीले एक घन्टा १७ मिनेट दस सकेन्ड समय लगाएर सबभन्दा चाँडै दौड पूरा गरिन्। पछिल्ला संस्करणकी विजेता सन्तोषीले (१ः१८.४० सकेन्ड)ले उपविजेतामा चित्त बुझाइन्। पछिल्लो संस्करणमा सन्तोषीसँग पछाडि परेपछि पूर्णलक्ष्मी दोस्रो स्थानमा थन्किएकी थिइन्।

आर्मीकै दुई धाविका निशा सार्की (१.१९ः१९ सकेन्ड) तेस्रो र सुनसरी रोकाया (१ः२१.४६ सकेन्ड) तेस्रो र चौथो भए । यसैगरी रुवान सिइङ (१.२२.३८ सकेन्ड) पाँचौँ, जुम्लाकी कल्पना बुढा (१ः२५ः०७ सकेन्ड) छैटौँ, राज्यलक्ष्मी रावल (१ः२८ः०२ सकेन्ड) सातौँ, सन्दीभा बुढा (१.२८ः३४ सकेन्ड) आठौँ, आश्मा विक (१.३१ः२० सकेन्ड) नवौँ र रसिला तामाङ (१.४२ः४० सकेन्ड) दशौँ स्थानमा रहे।

महिला हाफ म्याराथनमा विजेता पूर्णलक्ष्मीले एक लाख ५० हजार, उपवजेता सन्तोषीले एक लाख, तेस्रो हुने निशाले ८० हजार, चौथो हुने सुनसरीले ५० हजार र पाँचौँ स्थान प्राप्त गर्ने रुवानले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

यसैगरी भेटरान्स ५ किमी दौडमा धर्म महर्जनले पहिलो स्थान हासिल गरे। सो दौडमा रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष ५ किलोमिटर खुल्ला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए। ५ किलोमिटर दौड गल्र्समा दिपशिाख शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे। ५ किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्द कुमार यादवले तेस्रो स्थान हासिल गरे।

म्याराथनकै अवसरमा पारेर तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो। पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो। विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको