काठमाडौँ। वडा नं ११ ले सोमबार सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेको छ।
सङ्कटा मन्दिरको प्राङगणमा कामनपा वडा नं. २२ ले आयोजना गरेको सात चरणको दुई दिने प्रतियोगिताको दुई खुल्ला तथा अनिवार्य एक महिला र एक यु–१६ का खेलाडीको टिमसहित हरेक वडाले प्रतिस्पर्धा गरेका थिए।
च्याम्पियन वडा नं ११ ले सर्वाधिक १३ अङक बनायो। च्याम्पियन टिमले छ जित र एक बराबरीमा खेलेको थियो। सो टिममा एफएम क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी (यु–१६) र राधिका पौडेल (महिला)ले प्रतिस्पर्धा गर्नुभएको थियो।
पहिलो दिन वडा नं ११ सँगै संयुक्तरुपमा शीर्ष स्थानमा रहेको आयोजक वडा न २२ को ए टिमले उपविजेता बन्यो। वडा नं २२ ले सातमध्ये पाँचमा जित, एक बराबरी र एक हारमा खेल्यो। वडा नं २२ टिम एबाट पहिलो बोर्डमा सिएम नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकासचन्द्र नेपाल, तेस्रो बोर्डमा यु १६ का हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पुजा भण्डारीले खेल्नुभएको थियो।
वडा नं २२ सरह ११ अङ्क बनाएको वडा नं २३ ले तेस्रो स्थानमा चित्त बुझाउन बाध्यपशय भयो। पाँच जित, एक बराबरी र एक हारमै खेलेको वडा २३ प्रोग्रेसिभ अङ्कका आधारमा आयोजकको ए टिमभन्दा पछाडि परेको हो। वडा नं २८ ले नौ अङ्क बनाएर चौथो स्थान प्राप्त गरी सान्त्वना पुरस्कार हात पार्यो। वडा २३ बाट प्रतिश श्रेष्ठ, कविन्द्र शिवाकोटी, शैलेन्द्र न्यौपाने र सुशीला गुरुङ तथा वडा न २८ बाट सागर शाही, हर्षवर्धन राठी, सजल न्यौपाने र अन्जल श्रेष्ठले प्रतिस्पर्धा गर्नुभएको थियो।
विजेता वडा ११ ले ट्रफीसहित ६० हजार, उपविजेता वडा २२ ए ले ४० हजार, तेस्रो हुने वडा २३ ले ३० हजा र सान्त्वना पुरस्कार प्राप्त गर्ने वडा २८ ले २० हजार रुपियाँ पुरस्कार पाए। प्रतियोगितामा ब्यक्तिगत विधातर्फ एफएम क्षितिज पहिलो वोर्ड, प्रकाशचन्द्र नेपाल दोश्रो वोर्ड र यु–१६ का खेलाडी प्रवीर केसी तेस्रो बोर्ड र महिला खेलाडी वडा नं ३१ नेलिशा ओझाले चौथो बोर्डमा सर्वश्रेष्ठ बनेर जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गरिन्। यसैगरी १७०० रेटिङ मुनि वडा २० उत्कृष्ट बनायो।
नेपाल बुद्धिचाल महासंघको समन्वय र काठमाडौँ बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिगको आधारमा भएको प्रतियागितामा २९ टिमको सहभागिता रहेको थियो।


