काठमाडौं। कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोली व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै प्रदेशबाट नखेल्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले विगत केही वर्षदेखि भोग्दै आएको व्यवहारका कारण यस्तो निर्णय लिनुपरेको बताएका हुन्।
चनाराले आफू विगत ५–६ वर्षदेखि कर्णाली प्रदेशबाट निरन्तर खेल्दै आएको र राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्ने अवसर पाउने पहिलो खेलाडीमध्ये एक रहेको उल्लेख गरेका छन्। साथै उनले यू–१९ टोलीको क्याम्पमासमेत सहभागिता जनाएको बताएका छन्।
तर, पछिल्लो तीन वर्षदेखि आफूले टोलीबाट अपेक्षित अवसर नपाएको उनको गुनासो छ। उनले खेलमा प्लेइङ–११ मा परे पनि ५० ओभरको खेलमा प्रायः २–४ ओभर मात्र बलिङ गर्न दिइएको र राम्रो प्रदर्शन गर्दा पनि पूरा स्पेल नदिइएको उल्लेख गरेका छन्। उनका अनुसार सुरुवाती ओभरमै विकेट लिँदा पनि निरन्तरता नदिइनु, केही खेलमा विकेट लिन नसक्दा लगातार टोली बाहिर राखिनु जस्ता व्यवहारले आफू निराश बनेको बताएका छन्। कप्तान र प्रशिक्षकसँग प्रश्न गर्दा “स्पिन ट्र्याक” को कारण देखाउँदै स्पष्ट जवाफ नदिइएको पनि उनले उल्लेख गरेका छन्।
प्रदर्शनको हिसाबले उनले प्रधानमन्त्री कप २०८१ मा पुलिस क्लबविरुद्ध १० ओभरमा २९ रन खर्चेर ४ विकेट लिएको, त्यसपछि सुदूरपश्चिमविरुद्ध ५ ओभरमा २ विकेट लिएको तथा पुनः पुलिसविरुद्ध ६ ओभरमा २ विकेट लिएको तथ्य सार्वजनिक गरेका छन्।
यद्यपि, यी प्रदर्शनपछि पनि निरन्तर अवसर नपाएको र पछिल्लोपटक गण्डकी प्रदेशविरुद्धको खेलमा टोलीबाहिर राखिएको उनले बताएका छन्। कप्तानसँग सोध्धा “माथिबाट जे आदेश आउँछ, त्यही गर्छु” भन्ने जवाफ पाएको उल्लेख गर्दै उनले व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।
यी सम्पूर्ण परिस्थितिलाई ध्यानमा राख्दै चनाराले तत्कालका लागि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय लिएको घोषणा गरेका छन्। उनको यो निर्णयसँगै कर्णाली प्रदेश क्रिकेटभित्रको व्यवस्थापन र खेलाडीबीचको सम्बन्धबारे पुनः प्रश्न उठ्न थालेको छ।


