पृथु बास्कोटा कर्पोरेट टी–१० लिगको ब्रान्ड एम्बेसडर


काठमाडौँ। कर्पोरेट टी–१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

सोमबार आयोजित एक औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो।

बास्कोटाले नेपाल राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण योगदान दिएका छन्। मध्यक्रमका भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने बास्कोटा आफ्नो स्थिर प्रदर्शन र खेलप्रतिको समर्पणका लागि परिचित छन्।

कार्यक्रममा बोल्दै बास्कोटाले आफूलाई कर्पोरेट टी–१० लिगको ब्रान्ड एम्बेसडर बन्न पाउँदा अत्यन्त उत्साहित र गौरवान्वित महसुस भएको बताए। उनले नेपालमा क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै विशेषगरी कर्पोरेट क्षेत्रमार्फत खेलको विकास हुनु सकारात्मक संकेत भएको धारणा व्यक्त गरे। साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिए।

उक्त कार्यक्रममा काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले बास्कोटालाई ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको