विराट गोल्डकप : घरेलु टोली सम्राट सेमिफाइनलमा

काठमाडौं। ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो।

एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको सम्राटले अब फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। ४४औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए।

खेलको ५०औँ मिनेटमा सम्राटले बराबरी गोल फर्कायो। सौरव तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बुले डिबक्स भित्रबाट गोलमा परिणत गरे। ८६औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गरिएको अतिरिक्त समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–१ को जित सुनिश्चित गरे।

उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ। जसमा दुई पूर्व विजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको