काठमाडौं। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल दोस्रो लेगमा इंग्लिस क्लब आर्सनल र पोर्चुगिज क्लब स्पोर्टिङ सीपीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। तर समग्रमा १–० को अग्रता जोगाउँदै आर्सनल सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।
खेलभरि दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रहे। पहिलो हाफमा आर्सनलले केही राम्रो अवसर बनाएको थियो भने स्पोर्टिङले पनि काउन्टर अट्याकमा दबाब सिर्जना गर्यो।
४३औं मिनेटमा स्पोर्टिङका जेनी कातामोको प्रहार पोस्टमा लागेर फर्किएको थियो, जसले टोलीलाई अग्रता लिनबाट वञ्चित गरायो। त्यसअघि आर्सनलका एबेरेची एजे र भिक्टर ग्योकेरेसले गरेका प्रहार लक्ष्यभन्दा बाहिरिएका थिए।
दोस्रो हाफमा आर्सनलले खेलमा पकड जमाउँदै लगातार आक्रमण गर्यो। ८४औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डको हेडर पोस्टमा लाग्दा घरेलु टोली गोलबाट पुनः वञ्चित भयो।
खेलको अन्त्यतिर गाब्रिएल जेससको प्रहार थोरै अन्तरले बाहिरिँदा आर्सनल अग्रता दोब्बर बनाउन सकेन। स्पोर्टिङले पनि अन्तिम समयमा जोआओ सिमोएसमार्फत गोल गर्ने राम्रो अवसर पाए पनि प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो।
बराबरीसँगै आर्सनलले पहिलो लेगको १–० को जितलाई जोगाउँदै समग्रमा १–० ले जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो भने स्पोर्टिङ प्रतियोगिताबाट बाहिरिएको छ।


