काठमाडाैं। विराटनगरमा जारी ३८औं संस्करणको विराट गोल्डकपको उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ।
सहिद रंगशालामा शनिबार राति ७ बजेबाट हुने फाइनल भिडन्तमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने तयारीमा छन्।
विराट गोल्डकपको इतिहासमा झापा–११ दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ। झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई नै हराएर उपाधि जितेको थियो । यसपटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो।
अर्कोतर्फ, पहिलो पटक प्रतियोगितामा भाग लिएको सम्राट स्पोर्टिङ क्लबको मनोबल उच्च छ। उसले क्वाटरफाइनलमा पाहुना टोली भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ कै गोल अन्तरले पराजित गर्दै सनसनी मच्चाएको छ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गरे। सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताए। “पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो,” उनले भने, “झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रुपमा उत्कृष्ट छन्। घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्नेछौं।” उनले फाइनलमा कोमल खवासलाई मैदान उतारिने जानकारी समेत दिए।
सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताए। यता, झापा–११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा जितेको उपाधि अहिले प्रशिक्षकका रूपमा पनि दोहोर्याउन चाहेको बताए। “म आफैंले यही मैदानमा खेल्दा उपाधि जितेको अनुभव छ, अहिले प्रशिक्षकका रूपमा त्यो इतिहास दोहोर्याउन चाहन्छु,” खड्काले भने, “हामीसँग तीन जना विदेशी खेलाडी छन्। सम्राटलाई हामीले कमजोर ठानेका छैनौं, उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन्, त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ।”
झापाका कप्तान पूजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रो पटक झापा लैजाने विश्वास व्यक्त गरे।
चैत २८ देखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो। शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।


