काठमाडाैं। २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय तथा दोस्रो यु-१५ आइटिएफ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र जुनियर (यु–१५) तर्फ बागमती प्रदेश टिम च्याम्पियन बनेका छन्।
सिनियरतर्फ आर्मीले १९ स्वर्ण, ४ रजत र ९ कास्य पदक जित्दै पहिलो स्थान सुरक्षित गर्यो। बागमती प्रदेश ७ स्वर्ण, १० रजत र ९ कास्यसहित दोस्रो तथा सशस्त्र प्रहरी बल (एपीएफ) ४ स्वर्ण, ७ रजत र ६ कास्यसहित तेस्रो स्थानमा रह्यो। लुम्बिनी प्रदेश ३ स्वर्ण, १० रजत र ७ कास्यसहित चौथो तथा गण्डकी प्रदेश २ स्वर्ण, ३ रजत र ८ कास्यसहित पाँचौं स्थानमा रहे। कोशी प्रदेशले १ रजत र ६ कास्य, मधेश प्रदेशले १ कास्य तथा कर्णाली प्रदेशले ७ कास्य पदक जित्दा सुदूरपश्चिम प्रदेश भने पदकविहीन रह्यो।
प्रतियोगितामा समूह स्प्यारिङ, प्याटर्न तथा सेल्फ डिफेन्स विधाअन्तर्गत प्रतिस्पर्धा समावेश गरिएको थियो। व्यक्तिगततर्फ आर्मीका सुमन मसराङ्गी मगर ३ स्वर्णसहित पुरुषतर्फ ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए भने रिना धिमाल ५ स्वर्ण जित्दै महिलातर्फ ‘सर्वोत्कृष्ट खेलाडी’ बनिन्।
यस्तै, यु–१५ स्कुल च्याम्पियनसिपतर्फ बागमती प्रदेश ९ स्वर्ण, ५ रजत र ७ कास्य पदकसहित टिम च्याम्पियन बन्यो। लुम्बिनी प्रदेश ४ स्वर्ण, ६ रजत र ७ कास्यसहित दोस्रो तथा कर्णाली प्रदेश ४ स्वर्ण, ५ रजत र ७ कास्यसहित तेस्रो स्थानमा रह्यो। गण्डकी प्रदेशले ३ स्वर्ण, २ रजत र ३ कास्य जित्दा मधेशले २ रजत र ६ कास्य, कोशीले ७ कास्य तथा सुदूरपश्चिमले २ कास्य पदक हात पार्यो।
यु–१५ तर्फ व्यक्तिगत उत्कृष्टतामा गण्डकीका सचिन कुमाल पुरुषतर्फ ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए भने बागमतीकी आकृति नेपाल महिलातर्फ उत्कृष्ट खेलाडी बनिन्। आकृति नेपालले ब्लु बेल्ट प्याटर्न र ३५ केजी तौल समूह स्प्यारिङमा स्वर्ण जित्दै डबल स्वर्ण हासिल गरिन् भने लुम्बिनीकी कुसुम थापाले रेड बेल्ट प्याटर्न र ४५ केजी स्प्यारिङमा स्वर्ण जितिन्। पुरुषतर्फ सचिन कुमालले ब्लु बेल्ट प्याटर्नमा स्वर्ण र ५० केजी स्प्यारिङमा रजत जित्दै प्रभावशाली प्रदर्शन गरे।
यसरी सिनियरतर्फ आर्मी र जुनियरतर्फ बागमतीले वर्चस्व जमाउँदै प्रतियोगितामा आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्।


